काठमाडौँ: चेम्वर दिवस २०७७ तथा नेपाल चेम्वर अफ कमर्सको ७० ओै बर्षको अवसरमा नेपाल महिला चेम्वरबाट सोचेको डटकम संगको सहकार्यमा प्रारम्भ गरिएको अनलाइन ट्रेडिङ (इ–कमर्स ) को प्रारम्भ भएको छ ।
नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरबाट सोचेको डट कमसंगको सहकार्यमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुको अनलाईन ई कमर्सको माध्यमद्धारा व्यापार प्रवद्र्धन गर्ने उद्धेश्यले स्थापित उक्त अनलाइन ट्रेडिङको उद्घाटन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले गरेका हुन् ।
अध्यक्ष श्रेष्ठले राष्ट्रलाइ समृद्ध बनाउन महिलाहरुलाइ घरायसी कार्यमा मात्र सिमित नराखी उद्यमशीलताको बिकास गरी आर्थिक कृयाकलापमा संलग्न गराउन आवश्यक भएको बताए ।
प्रस्तुत अनलाइन ट्रेडिङको माध्यमबाट महिला उद्यमीहरुलाइ आफ्नो व्यवसाय वृद्धि गर्न प्रेरणा मिल्ने बताउदै हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताए ।
महिला उद्यमीहरु पर्यटन लगायत अन्य सेवा क्षेत्रमा पनि संलग्न भएकोले आगामी दिनहरुमा सेवा क्षेत्रलाइ समेट्न समेत श्रेष्ठले आग्रह गरे ।
उक्त अवसरमा नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले अहिले कोभिड ( १९ को महामारीमा ठुला उद्योग तथा व्यवसायमात्र नभइ महिला उद्यमीहरु पनि प्रत्यक्ष प्रभाबित भएको बताईन् ।
महिला उद्यमीहरुले लघु उद्योगको रुपमा अधिकांश व्यवसाय संचालन गरी रहेका र त्यसबाट उत्पादित वस्तुहरु लामो वन्दावन्दीले ओसार पोसार गर्न कठिनाइ तथा पसलहरु पनि वन्द भएकोले उत्पादित वस्तुहरु बिक्री गर्न नपाएको र अर्को तर्फ वैंकको व्याज, कर्मचारीको तलव, घर जग्गा भाडाको दायित्व समेत व्यहोर्नु पर्ने भएकोले महिला उद्यमीहरु अतिनै प्रभाबित भएका छन ।
यस सन्दर्भमा महिला उद्यमीहरुबाट उत्पादित वस्तुको बिक्री प्रवद्र्धन गरी उहांहरुलाइ उकास्न नेपाल महिला चेम्वरले सोचेको डट कमसंग सहकार्य गरी अनलाईन व्यापारको लागि प्रयास थालनी गरेको उनले बताईन् ।
सिमित सहभागिता र पूर्ण सामाजिक दूरी लगायत अन्य सबै स्वास्थ्य प्रोटोकल पुरा गरी सो कार्यक्रम गरीएको थियो ।