पोखरा: पछिल्ला दुई महिनायता गण्डकीमा (एकाधबाहेक) दैनिक हजार जनाको पनि स्वाब परीक्षण भएको छैन । स्वास्थ्य निर्देशनालयकै विज्ञप्तिको यो तथ्यांकले संक्रमणको दर भने निकै उच्च रहेको देखाउँछ ।
सोमबारकै तथ्यांकलाई हेर्ने हो भने गण्डकीमा ८७४ जनाको स्वाब परीक्षण गर्दा १२३ जनामा कोरोना भेटिएको छ । यो संख्या भनेको प्रत्येक एक सयजनाको परीक्षण गर्दा १४ जनालाई कोरोना पुष्टि भएको छ ।
आइतबार पछिल्लो समयकै धेरै एक हजार २३० जनाको स्वाब परीक्षण भएको छ । यस्तै, आइतबार नै ४३४ जना संक्रमति गण्डकीमा थपिएका छन् । यो तथ्यांक भनेको १०० जनामा ३४ जनालाई कोरोना पुष्टि भएको हो ।
शुक्रबार २८ प्रतिशत, बिहिबार १७, बुधबार ३२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । पछिल्लो साताको मात्रै तथ्यांक हेर्ने हो भने गण्डकीमा प्रतिदिन स्वाव परिक्षण भएकामध्येमा २५ प्रतिशतमा कोरोना पुष्टि भएको छ ।
यो त भयो प्रदेशभरिको तथ्यांक । यही तथ्यांकलाई हेर्दा पछिल्लो साता पोखरा कोरोनाको हटस्पट नै बन्न पुगेको छ । सोमबार ७०, आइतबार २८३, शुक्रबार १८३ कोरोना संक्रमित कास्कीका मात्रै छन् । यो भने कुल प्रदेशभरिको ५० प्रतिशतभन्दा बढी हो ।
दसैं तिहारको मोबिलिटी पनि बढ्यो । अहिले क्वारेन्टिनमा बस्ने कुनै समय पाँच-छ हजार थिए । अहिले चार-पाँच सय मात्रै छन । त्यही भएर पनि कम भएको हो । अबको २०-२२ दिनमा झनै बढ्छ । अहिले झन्डै २ हजार एक्टिभ केस छन्, यो बढेर पाँच हजारसम्म पुग्न सक्छ ।