काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासघंको आगामी निर्वाचनको लागि किशोर प्रधान समूहले उम्मेदवारी दर्ता गरेको छ।
सोमबार बिहान उम्मेदवारी घोषणा गरेको प्रधान समूहले दिउँसो दर्ता गरेको हो।
वरिष्ठ उपाध्यक्षमा प्रधान, जिल्ला-नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा शौरभ ज्योती लगायत अन्य उम्मेदवारीहरुले प्रत्यक्ष र अनलाइनमार्फत उमेदवारी दर्ता गराएका हुन्।
सबै जनाको आजै उम्मेदवारी दर्ता गरिने एसोसिएट सदस्य उमेदवार कृष्ण प्रसाद दुलालले जानकारी दिए।
‘एसोसिएट, वस्तुगत र जिल्ला सबैको उमेदवारी दर्ता आजै गर्ने हो। लगभग सबैको भइसक्यो, केहीको हुँदै छ,’ उनले भने।
कोभिड–१९ को विषम् परिस्थितिमा अध्यक्षलाई सघाउने टोली नहुँदा देशको अर्थतन्त्र नै धरापमा पर्ने देखिएकाले भावी अध्यक्ष शेखर गोल्छाको सारथी बन्न उम्मेदवारीको घोषणा गरेको प्रधानले बताए।
‘पहिले–पहिले पनि अरु पदाधिकारीले अध्यक्षलाई असहयोग गर्दा महासघंले काम गर्न नसकेको प्रशस्तै उदाहरण छन्। हामी एउटा औंला होइन, मुठ्ठी बनेर काम गर्न चाहन्छौं,’ उनले भने।