काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरूद्धमा चलखेल भएको भन्दै त्यसलाई निस्तेज पार्ने चेतावनी दिएका छन्।
बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको सुरूमै आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले अस्थिरता निम्त्याउने गरी षडयन्त्र भइरहेको समेत आरोप लगाए।
उनले आफूलाई पदबाट हटाउनका लागि विभिन्न चलखेल भइरहेको दाबी समेत गरेको एक मन्त्रीले बताए।
‘कोटेश्वरमा विभिन्न खालका चलखेल भइरहेका छन्। ती चलखेलको सामना गर्न तयार छु,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती मन्त्रीले भने, ‘विश्वास अविश्वासका विभिन्न खालका चलखेलहरू भइरहेका छन्।’
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए।