काठमाडौँ : नेपाल बैंकर्स संघको उपाध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने संघको विधान अनुसार उनी एक वर्षपछि संघको अध्यक्ष बन्नेछन् ।
त्यस्तै, रिक्त रहेका दुई सदस्य पदमा पनि दुई जना निर्विरोध भएका छन् । संघको कार्य समिति सदस्यमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत दिपक कुमार दे निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल बैंकर्स संघले आफ्नो साधारणसभाको अवसर पारेर राष्ट्र बैंकका पूर्व गभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरेको छ।
गभर्नर महाप्रसाद अधिकारीले श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।
सम्मानित भएपछि श्रेष्ठले अहिलेको अवस्था निकै जटिल र चुनौतीपूर्ण रहेको भन्दै यसबाट बाहिर आउन सबै जना एकजुट हुनुपर्ने बताए।
श्रेष्ठ राष्ट्र बैंकको १०औं गभर्नर हुन्। यसअघि संघले प्रथम गभर्नर हिमालय शम्शेर राणा र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई सम्मान गरेको थियो।