काठमाडौँ: निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्यको प्रक्रिया थालेको छ ।
पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूह दुबैले आफ्नो समूह आधिकारिक भएको भन्दै दाबी गरिरहेका बेला आयोगले वैधानिकता विवादको निरूपण गर्न प्रक्रिया थालेको हो ।
त्यसका लागि आयोगले वैधानिकता दाबी र दुवै पक्षबाट प्राप्त कागजातबारे अध्ययन गरेर दुवै पक्षलाई पत्र पठाएको छ ।
आयोगको कानुन शाखाले विवादबारे दुवै पक्षबाट आयोगलाई प्राप्त कागजात अध्ययनपछि दुवै पक्षलाई पत्र पठाएको जनाएको छ । पत्रमा एक समूहलाई अपुग कागजात बुझाउन म्याद तोकिएको छ भने अर्को समूहलाई कानुनी जानकारी गराइएको उल्लेख छ ।
आयोगका अनुसार प्रचण्ड–माधव पक्षको पत्रमा पुरानो पार्टीमा रहेका केन्द्रीय सदस्यको बहुमत आफूसँग रहेकाले पार्टीको नाम, झन्डा र चुनाव चिह्न दाबी गरिएको छ । ओली पक्षको पत्रमा केन्द्रीय समिति विस्तार र विधान संशोधनबारे मात्रै आयोगलाई जानकारी गराइएको छ ।
आयोगमा ती दुई समूहबाट फरक फरक मितिमा एक पक्षबाट तीन वटा र अर्को पक्षबाट दुई फरक मितिमा दुई वटा पत्र दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवैतर्फबाट प्राप्त केन्द्रीय समितिको निर्णयको प्रतिलिपि हेरेर आयोगले दुवै समूहलाई आवश्यक कानुनी प्रक्रियाका पुर्याउन पत्र पठाएको बताए ।