काठमाडौँ: लगातार चार कारोबार दिनमा ११४ अंक माथि उक्लिएको नेप्सेमा पाँचौ कारोबार दिनमा करिब १८ अंकको करेक्शन आएको छ ।
अल्पकालिन लगानीकर्ता नाफा बुकिङ्गमा लाग्दा बजारमा बिक्री चाप परेको हो । साथै गत आइतबारदेखि बजारमा टि प्लस टु लागू भएकाले पनि कारोबारमा तिब्रता आएको हो । बजार घटेपनि कारोबार रकमले भने साथ छाडे्को छैन् । यसले आगामी बजारको बुलिस प्रवृति कायमै रहको जनाउने बजार विश्लेषकहरु बताँउछन्।
तीब्र उतार चढावका बीच मंगलबार नेप्से सूचक १७.७९ अंकले घटेर २४२३.०९ विन्दुमा बन्द भएको छ । सुरुवाती कारोबारमा भने नेप्से सूचक हालसम्मकै उच्च २४६१ विन्दुसम्म उक्लिएको थियो ।
यसदिन २०७ कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ६३ हजार ८१८ पटक कारोबार आउँदा कारोबार रकम ८ अर्ब २७ करोड ९७ लाख बराबरको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा ६३ करोड कम हो । ठूला कम्पनीहरुको सूचप मापक सेन्सेटिभ इन्डेक्स ४.५८ अंकले घटेर ४४७.२४ बिन्दुमा झरेको छ ।
यसदिन कारोबबारमा आएका १२ समूहमध्ये २ बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । ४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । यस्तै शिवश्री हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यस दिन कारोबार आएका २०७ कम्पनीमध्ये ४० कम्पनीको मात्रै मूल्य बढेको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ।
मंगलबारको बजारमा नेपाल लाइफ इन्स्योरेन्सको मात्रै एक अर्ब ४५ करोड रुपैयाँको शेयर किनबेच भएको छ। आज कम्पनीको प्रस्तावित ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले कम्पनीको कारोबार उच्च भएको हो ।