काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा बाउन्स ब्याक हुँदा बिहीबार मात्रै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण १ खर्ब २४ अर्ब ९३ करोडले बढेको छ ।
नेप्सेमा ९० अंकको बढोत्तरी आएसँगै बुधबारको तुलनामा सबा खर्ब रुपैयाँले बजार पूँजीकरणमा सुधार आएको हो । बिहीबार कुल बजार पूँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ पुगेको छ । बुधबार ३३ खर्ब २८ अर्ब ८१ करोड २४ लाख रुपैयाँ कूल बजार पूँजीकरण रहेको थियो ।
अघिल्लो साता ८२ अंकले घटेको नेप्सेले यस साताको आइतबार ८०, मंगलबार ६० र बुधबार ४० अंकले गिरावट बेहोरेको छ । यसबीचमा सोमबार ४० अंकले सुधार आएको बजारमा बिहीबार ९० अंकको उच्च बाउन्स ब्याक भएको हो । यद्यपी यति हुँदापनि बजार अघिल्लो बिहीबारको तुलनामा अझै ५२ अंक तल छ । अघिल्लो बिहीबार नेप्से सूचक २५५४ बिन्दुमा थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ३.७५ प्रतिशत अर्थात ९०.६७ अंकले बढेर २ हजार ५०० बिन्दुमाथि पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डैक्सको सूचक १४.६७ अंकले बढेर ४५१.४६ अंकमा पुगेको छ ।
आज २०६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता शेयर ६५ हजार १७४ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१७ रुपैयाँ पुगेको हो । बिहीबारको बजारमा कारोबारमा आएका सबै १३ उपसमुहका सूचकमा हरियाली छाएको छ । ब्यापार सूचक सबैभन्दा धेरै ७ प्रतिशत बढीले बढ्दा अन्य, लगानी र लघुवित्तको इन्डेक्समा पनि ५ प्रतिशत बढीको बढोत्तरी आएको छ ।