काठमाडौँ: प्रधानमन्त्री केपी ओलीले मधेसमा आफूलाई पस्न नदिने भन्नेहरूलाई ‘मलाई मधेस पस्न नदिए पनि पानी चाहिँ नरोक्नुहोला’ भनेका छन्।
केही मानिसहरूले आफूलाई मधेसविरोधी भने पनि मधेसका खेतमा पानी पसाउने कामको शुभारम्भ आफूले गरेको बताए।
सुनकोशी-मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै ओलीले भने, ‘केपी ओली मधेस नपसे पनि खेतमा पानी चाहिँ केपी ओलीले पसाउँछ।’
उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई तराई-मधेसमा त्यो खबर लैजान अनुरोध गरे। ‘मलाई तराई-मधेसीमा पस्न नदिए हुन्छ। तर, पानी चाहिँ नरोक्नुहोला,’ उनले भने।
सुनकोशी-मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ। उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने योजना रहेको उनले बताए।
त्यस्तै, डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए।
‘मलाई तराई छिर्न हतारो छैन। सुनकोशी-कमला डाइभर्सनबाट अर्को १ लाख ७० हजार बिगाहा थप सिँचाइ भएपछि मेरो स्वागत गर्न राजनीतिक पार्टी चाहिँदैन। जनताले आफैं गेट बनाउँछन्,’ उनले भने।
ओलीले देश विकासको बाटोमा गएको बताए। उनले अब जनताको सुरक्षा गर्ने योजना सरकारले ल्याएको र विकास आयोजनाको काम अघि बढाएको बताए।
उनले अब अप्टिकल फाइबर बिछ्याएर देशैभरि फोरजी सेवा पुर्याउने बताए।‘अड्डा अदालत गइरहनुपर्दैन, मोबाइल एप्सबाटै काम हुन्छ, तपाईं ढुक्क हुनुहोस् देश विकासको बाटोमा अघि बढ्यो।’