काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् ।
बिहीबार होटल मेरियटमा करीव डेढ घण्टा भएको एक्लाएक्लै छलफलमा पार्टी विवादका विषयमा केन्द्रीत रहेको भए पनि खासै प्रगति नभएको उनले बताएका हुन् ।
भेटपछि बाहिरिएका ओलीले भने कुनै प्रतिक्रिया दिएनन् । अर्का नेता नेपालले संक्षिप्त प्रतिक्रिया दिँदै कुराकानीमा कुनै प्रगति नभएको बताए ।
उनले भने, ‘हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन ।’ उनले मिल्ने सम्भावना पनि नदेखिएको र अब छलफल कहिले हुन्छ भन्ने पनि टुंगो नभएको बताए ।
बिहीबारको भेटका क्रममा मेरियट होटलको झ्यालबाट नेताद्वयले नवनिर्मित धरहराको अवलोकन गरेका थिए । नताद्वयबीच बुधबार पनि मेरियट होटलमै संवाद भएको थियो ।
सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो ।