काठमाडौँ: निरन्तरको वृद्धिसँगै शेयर बजारको पूँजीकरणको आकार पनि अहिलेसम्मकै सबैभन्दा ठुलो भएको छ ।
सोमबार मात्र शेयर बजार परिसुचक नेप्से ४२.७२ अंकले उकालो लाग्दा ९४ कम्पनीको शेयर मूलय बढेको छ । यस दौरान समग्र बजार पूँजीकरण पूँजीकरण ६० अर्ब रुपैंयाले बढेको छ । वाणिज्य बैंक, होटल, उत्पादन, बीमा र वित्त कम्पनीको सूचक मापन गर्ने उपसमुहहरुमा आएको सुधारले बजार पूँजीकरणको आकार बढाएको हो ।
सोमबार समग्र बजार पूँजीकरण ४२ खर्ब १६ अर्ब रुपैंया कायम भएको छ । आइतबार ४१ खर्ब ५६ अर्ब रुपैंया बजार पूँजीकरण कायम भएको थियो । बजार पूँजीकरणको यो आकार इतिहासकै सबैभन्दा ठुलो आकार हो ।
गत मंगलबार बजार पूँजीकरण ७४ अर्ब १९ करोड ४० लाख रुपैंयाले बढेर ४१ खर्ब ९ अर्ब ५७ करोड रुपैंया पुगेको थियो ।
ऐतिहासिक उचाई कायम गर्दै नेप्से परिसुचक ३०२५.८२ अंकमा पुग्दा सोमबार १८ अर्ब ८८ करोड रुपैंयाको शेयर किनबेच भएको छ ।
नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको शेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई शेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको शेयर मूल्य र शेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।
यसअवधिमा बजारमा शेयरको आपूर्ति उल्लेख्य बढेको छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले बोनसमा जोड दिएका छन् भने मर्जर तथा प्राप्ती कारण समेत बलिया संस्थाको रुपमा विकसित भैरहेको अवस्था रहेको छ । जलविद्युत तथा उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सहभागिता पनि बढेको छ । सूचीकृत कम्पनीको हकप्रद शेयर पनि उत्तिकै थपिएको छ । त्यसैगरी नयाँ .कम्पनीहरुको साधारण शेयरका कारण पनि शेयरको आपूर्ति र मूल्य बढेको अवस्था छ ।