काठमाडौँ: काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बन्ने बाटो खोलिदिएपछि सो पार्टीका संस्थापन इतर पक्ष आन्तरिक छलफलमा जुटेको छ ।
आफू निकटबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफलका लागि नेता कृष्ण प्रसाद सिटौला पक्ष आन्तरिक बैठकमा जुटेको हो ।
सिटौला पक्षले दिउँसो १ बजे बैठक बोलाएको छ । चन्डोलस्थित सिटौला निवासमा गगन थापासहितका नेताहरुलाई बोलाइएको छ । सो बैठकबाट सिटौलाको भागमा पर्ने मन्त्रीको छनोट हुने नेता भीमसेनदास प्रधानले जानकारी दिए ।
सिटौला समूहबाट तीन प्रतिनिधिसभामा गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास प्रधान सांसद रहेका छन् । उनीहरुमध्ये एकजनालाई मन्त्री बनाउन सिटौलाले सिफारिस गर्ने पक्कापक्की छ ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आन्तरिक छलफलमा छन् । तर अहिले नै देउवासँग भागबण्डा मिलिनसकेकाले कसरी आफू निकटको प्रतिनिधित्व सरकारमा बढाउने भनेर उनी रणनीति बुन्न छलफलमा रहेको नेताहरुको भनाइ छ ।