काठमाडौँ: नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १०० अंक बढेको छ भने कारोबार रकम पनि साढे ११ अर्ब नाघेको छ।
यस दिन नेप्से परिसूचक ९७.२१ अंक बढेर २९८०.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.५५ अंक बढेर ५६०.९६ विन्दुमा पुगेको छ। यता, फ्लोट इण्डेक्स ७.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.७८ अंक बढेको छ।
नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटकको कारोबारमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बरबारको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्सेसँगै कारोबार रकम पनि बढेका कारण लगानीकर्ताहरु उत्साहित भएका छन्। नयाँ आर्थिक वर्ष शुरु भएसँगै लगानीकर्ताहरु पनि नयाँ जोशका साथ लगानी गर्न थालेको जानकारहरु बताउँछन्।
बढेको बजारमा यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन हिमालयन पावर पार्टनर, सिंगटी हाइड्रोपावर, सिन्धु विकास बैंक, ङादी ग्रुप पावर र समृद्धि फाइनान्सको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मूल्य घट्ने शीर्ष १० कम्पनीहरुको सूचीमा अधिकांश ऋणपत्र रहेका छन्।
आइतबार कारोबारमा आएका सबै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ५.०५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ४.७१ प्रतिशत बढेको छ भने निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन मञ्जुश्री फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ४० करोड ९९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ३८ करोड ६१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।