काठमाडौं: नेकपा एमालेले पार्टी आफ्ना २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। सोमबार च्यासलमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले आइतबार पार्टीको ह्विप नमानी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत हाल्ने सांसदहरुलाई कारवाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
साथै बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। पार्टी एकताका लागि माधवकुमार नेपाललाई १० बुँदे सहमतिअनुसार पार्टीमा फर्काउन नसकेको बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार बैठकमा केपी ओलीले देउवाले विश्वासको मत लिने क्रममा देखिएको आयामबारे चर्चा गरेका थिए। आइतबारको घटनालाई ओलीले गलत भएको भन्दै अग्रगतिको धक्काका रुपमा लिएको नेता ज्ञवालीले जानकारी गराए।
देउवालाई विश्वास दिनु अनुशासनहीन काम भएकाले स्पष्टीकरण माग गर्ने निर्णय भएको उनले जानकारी गराए। २२ जना सांसदले दिने जवाफका आधारमा पार्टीले थप निर्णय गर्ने जनाइएको छ। पार्टीको विषयलाई लिएर भीम रावलले गरेको राजीनामा पनि गलत भएको नेता ज्ञवालीले जानकारी गराए।
पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदै सहमतिका कयौं बुँदामा माधव नेपालले सहमति जनाएको नेता ज्ञवालीले जानकारी गराए। ‘देउवालाई मत दिन उहाँले अडान लिनु भयो। अल्पमतमा भएको कमिटीको निर्णय मान्न सक्दिन भन्नु भो,’ नेता नेपालबारे ज्ञवालीले भने, ‘संस्थागत निर्णय मान्न सक्दिन भन्नुभयो। उहाँलाई १० बुँदे सहमति अनुसार फर्काउन नसकेपछि १० बुँदेको स्प्रिटमा अघि बढेका हौं।’
हिजो प्रतिनिधिसभामा भएको विश्वासको मतदानमा माधवकुमार नेपाल सहित १४ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिएका थिए। त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि फ्लोर क्रस गरेका थिए।
अनपेक्षित रुपमा ओली पक्षका सांसदले फ्लोर क्रस गरेपछि देउवाले ठूलो मतान्तरले विश्वासको मत हासिल गरेका हुन्। देउवाका पक्षमा १ सय ६५ सांसदले मत दिँदा विपक्षमा ८३ मतमात्र परेको थियो। ओली पक्षका सांसदले फ्लोर क्रस गरिरहँदा नेपाल पक्षका चर्चित नेताहरुले भने विश्वासको मतको प्रक्रियाबाट आफूलाई अलग राखेका थिए।