काठमाडौँ: शेयर बजार मापक सूचक नेप्सेले हालसम्मकै उच्च बिन्दु कायम गरेको छ । मंगलबार नेप्से दोहोरो अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । यो हालसम्मकै उच्च अंक हो ।
यसभन्दा अघि साउन १३ गते बुधबार नेप्से ३०९४.९४ बिन्दुको रेकर्ड कायम रहेको थियो । जलविद्युत र लघुवित्त कम्पनीहरुको शेयरमा उच्च आकर्षण देखिँदा बजार सूचक उच्चतम बिन्दुमा पुगेको हो ।
मंगलबार ११ अर्ब ५२ करोड बढीको शेयर कारोबारमा आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार नेप्से परिसूचक २६.०२ अंकले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । सेन्सेटिभ परिसूचकपनि ५.०६ अंकले बढेर ५७७.५२ बिन्दुमा पुगेको छ । आजको बजारमा कूल २२३ वटा कम्पनीको २ करोड ११ लाख २९ हजार ८८ कित्ता शेयर ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
मंगलबार पाँचथर पावर र रूरू जलविद्युत परियोजनाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी र स्वावलम्बन लघुवित्त गरी पाँच कम्पनीको शेयरमूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।
यसदिन युनिलिभर नेपाल लिमिटेड कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ३.७९ प्रतिशतले घटेको छ भने नबिल ब्यालेन्स्ड फण्ड र एनआईबिएल प्रगति फण्डको इकाईमूल्य पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज अपि पावरको सबैभन्दा धेरै ४६.४२ करोडको शेयर खरीद बिक्री हुँदा ङादी ग्रुप पावर ४३.३२ करोड, फस्ट माइक्रोफाइनान्स ३३.८६ करोड, र स्वावलम्बन लघुवित्तको ३० कराड बढीको शेयर कारोबार भएको छ ।