काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार सूचक माप नेप्से १८.२४ अंकले घटेर ३१८०.७८ बिन्दुमा झरेको छ । सूचक घटेपनि लगानीकर्ताको सेक्टर परिवर्तैनले कारोबार रकम भने साढे २० अर्ब पुगेको छ ।
बिहीबार २२९ कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँमा खरीद बिक्री भएका छन् । बिहीबार लगानीकर्ताहरुको प्रवेश बीमा क्षेत्रमा भएको छ । यसअघि जलविद्युत, विकास बैंक र फाइनान्स कम्पनीमा रहँदै आएको लगानीकर्ताको आकर्षण बिहीबार बीमा कम्पनीको शेयरमा पुगेको छ ।
बिहीबार निर्जीवन बीमा सूचक ३.२० प्रतिशत जीवन बीमा सूचक २.६४ प्रतिशतले बढेको छ । अन्य सूचक १.६८ प्रतिशतले बढ्दा ब्यापार र लघुवित्तको सूचक सामान्य मात्र बढेको छ ।
यसदिन लगानी सूचक सर्वाधिक ३.९९ प्रतिशतले घट्दा जलविद्युत, विकास बैंक र फाइनान्सको सूचक पनि २ प्रतिशत बढीले घटेका छन् । यी क्षेत्रबाट नाफा सुरक्षित गरी लगानीकर्ता बीमा कम्पनीको शेयरमा प्रवेश गरेका हुन् ।
यसदिन अरुण काबेली पावर र अरुण भ्याली हाइड्रोपावरको १ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर, रिडी, एचआईडिसीएल, कामना सेवा, लुम्बिनीविकास बैंक, ङादी ग्रुप पावर, ज्योति विकास बैंक र अपि पावरको उच्च कारोबार भएको छ । दशौं ठूलो कारोबार भएको अपि पावरको ३६.५७ करोडको शेयर कारोबारमा आएको छ ।
बिहीबार जीवन विकास लघुवित्तको शेययरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिशत अर्थात ३५५ रुपैयाँले बढेर ३९०६ रुपैयाँ पुगेको छ । रिडी हाइड्रोपावर, साना किसान लघुवित्त, सिईडिबि हाइड्रोपावर, युनाइटेड इन्सयोरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । एनएलजी र प्रडेन्सियल इन्स्योरेन्सको पनि करिब ५ प्रतिशतले मूल्य बढेको छ ।
यसदिन खानीखोला हाइड्रोपावर, पञ्चकन्या माई र एचआईडिसीएलको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । ङादी ग्रुप पावर, माउन्टेन हाइड्रोपावर, आँखुखोला, बरुणहाइड्रोपावर, आईसीएफसी फाइनान्स, घलेम्दी हाइड्रोपावर, र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।