काठमाडौँ:
एक पटक विभाजित भएर मिलेको विवेकशील-साझा पार्टी फेरि फुटतर्फ अघि बढेको छ। देशकै ठूलो दल नेकपा एमाले विभाजित भइनसक्दै वैकल्पिक शक्ति दाबी गर्ने विवेकशील-साझा पनि फुट्न लागेको हो।
केही महिनाअघि एकीकरण भएर बनेको यो पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र मिलन पाण्डेबीच शक्ति संघर्ष चर्किएको छ।
एमाले र जनता समाजवादी विभाजित भएलगत्तै आफूलाई वैकल्पिक राजनीतिक शक्ति बताइरहेको विवेकशील-साझा पनि फुटतर्फ बढेको हो।
मिश्रले संघीयता खारेजी, धर्मनिरपेक्षताको सम्बन्धमा जनमतसंग्रह र राजतन्त्रलाई विशेष शक्तिका रूपमा स्वीकार्नुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेपछि विवेकशीलमा विवाद बढेको थियो।
मिश्रले सार्वजनिक रूपमा प्रस्ताव गरेलगत्तै पाण्डेलगायतले तीव्र असन्तुष्टि जनाउँदै विरोध थालेका थिए।
मिश्रको प्रस्तावलाई चुनौती दिने गरी पाण्डेले पनि दस्तावेज सार्वजनिक गरेका थिए। उनले धर्मनिरपेक्षता, संघीयतासहितका उपलब्धिलाई बेठीक भन्ने कुनै पनि कुरामा सहमत हुन नसकिने बताउँदै आएका छन्।
यसैबीच विभाजनलाई प्रश्रय हुने गरी मिश्र र पाण्डेले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक आह्वान गरेका छन्।
मिश्रले बिहीबारका लागि बैठक बोलाएपछि पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन। यसले उनीहरु मिलेको केही महिनामै विभाजनतर्फ बढेको पुष्टि गरेको छ।
मिश्रले बोलाएको बैठक पार्टी एकीकरण विपरीत रहेको भन्दै पाण्डेले पनि काउन्टर दिने गरी आफू पक्षीय बैठक बोलाएका हुन्।
विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मंसिरमा एकीकरण भएको थियो। साझाका रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका मिलन पाण्डेलाई संयोजकको भूमिकामा राखेर त्यसबेला एकता भएको थियो।