काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतार–चढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक ३.०३ अङ्कले ओरालो लागेर २०६०.०६ बिन्दुमा झरेको छ ।
आजको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ अङ्कले ओरालो लागेर ३९४.६२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहगत सुचकमध्ये ९ वटा घट्दा ४ भने उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबार भएकामध्ये १०७ कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १०२ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । कूल ८२ लाख २२ हजार आठ सय ३३ कित्ता सेयर ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ बराबरको कारोबार भयो ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४३ करोड १९ लाख ६४ हजार २३६ रूपैयाँ बराबरको कारोबार भयो । एनआइसी एशिया बैंक ९ करोड ६६ लाख ९५ हजार रूपैयाँ, सानिमा बैंक ९ करोड ४९ लाख १२ हजार ८१४ रूपैयाँ, हिमाल दोलखा हाइड्रोपावर ८ करोड १७ लाख ९४ हजार ४५२ रूपैयाँ र नेपाल पुनरबीमा कम्पनी ८ करोड ३ लाख ४२ हजार ८१८ रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
