काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्ण रूपमा अवलम्बन गर्न अझै बाँकी रहेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले आफ्नो नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरिन्।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य हुन नसक्नुको कारणको खोजी गर्नुपर्नेमा पनि जोड दिइन्।
राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाए पनि अझै पनि सुत्केरी महिलाहरूको उपचारको अभावमा ज्यान जाने अवस्था कायमै रहेको उल्लेख गर्दै चिन्ता समेत व्यक्त गरिन्।
उनले भनिन्, ‘संविधान र कानुनले प्रत्याभूत गरेको विषयहरू पनि हामीले पूर्ण रूपमा अवलम्बन गर्न अझै बाँकी छ। हामीले जुन सोचका साथ लैंगिक विकासका अवधारणा अघि सारेका थियौं। त्यो परिणाम प्राप्त भएको छ, छैन ? सो को यथार्थ समिक्षा गरी अघि बढ्नु पर्दछ भन्ने मलाई लाग्दछ। विगतमा भन्दा विद्यालयमा छात्राको उपस्थिति बढेको छ। तर तिनले विद्यालय शिक्षा पूरा गरेका छन कि छैनन्? यसैगरी महिला स्वास्थ्यमा समेत प्रशस्त लगानी गरिएको छ। तर रोगप्रतिरोधात्मक क्षमता विकास गर्न हाम्रा प्रयास पर्याप्त छन् वा छैनन्? विचारणीय छ।’
उनले थप भनिन्,‘अहिले पनि दुर्गम क्षेत्रमा सुत्केरी हुन नसकेर वा सुत्केरी भएपछिको सामान्य उपचारको अभावमा अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको छ। किन अहिले पनि महिलाहरू विभिन्न किसिमका सामाजिक कुरीतिको शिकार भइरहेका छन्? घरेलु हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट महिलाहरूले अझै पनि किन सुरक्षित महसुस गर्न सकिरहेका छैनन्? यी प्रश्नहरूको उत्तर खोजिनु जरूरी छ। हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि यिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको कुरा यसमा पुनर्विचार गर्न आवश्यक देख्दछु।’
राष्ट्रपति भण्डारीले स्वास्थ्य क्षेत्रमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि पर्याप्त प्रयास गर्नुपर्ने पनि बताइन्।
