काठमाडौं । नेकपा एमालेले राष्ट्रपतिको निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।
शुक्रबार साँझ मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
त्यसको भोलिपल्ट बसेको शनिबार एमालेले सचिवालयको बैठक बोलाएको थियो । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डले गलत निर्णय गरेको निष्कर्ष निकालेको छ ।
‘अस्थिर हुुनुभयो, बाहृय दबाब थेग्न सक्नु भएन र प्रगतिशील गठबन्धनलाई छाडेर दक्षिणपन्थी गठबन्धनतिर लाग्नुभयो,’ बैठकको निष्कर्ष सुनाउँदै एमालेका एक पदाधिकारीले भने ।
यद्यपि एमालेले १० पुसमा बनेको गठबन्धन तोडिएको घोषणा गरेन, बरु त्यो सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । ‘सुबासजीको उम्मेदवारी पुस १० को निरन्तरता हो,’ एक पदाधिकारी भन्छन्, ‘१० गते प्रचण्डलाई प्रधानमन्त्री नियुक्ति गर्ने हस्ताक्षर गर्नेए दल र मतदानताहरु कायम रहन्छ भन्ने हाम्रो विश्वास छ ।’
