काठमाडौँ:
भुटानी शरणार्थीलाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मोरङका केशव प्रसाद दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंककुमार गुरुङलाई पक्राउ गरेको हो।
उनीहरुले ८१ जनालाई यसरी ठगी गरेको आरोप छ।
तर अहिलेसम्म दुई जना मात्रै पीडित सम्पर्कमा आएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए।
उनीहरुले कोहीसँग १५ लाख र कोहीसँग २५ लाख गरी ८१ जनाबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको पीडितले बताएका छन्।
घटना विवरण:
काठमाण्डौंमा सानु भण्डारी समेतको संयुक्त मिलेमतोमा २०७७ साल देखि हाल सम्म बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी ८१ जना पीडितहरुबाट करिब र १३ करोड ६३ लाख भन्दा बढी ठगी गरेको भनि पीडितहरुले दिएको किटानी जाहेरी दरखास्तको आधारमा यस कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।१२।१२ गते ठगी गर्ने कार्यमा संलग्न तपशील बमोजिमका ३ जना व्यक्तिहरुलाई ललितपुर धापाखेल एरियाबाट पक्राउ गरि निजहरुलाई मुलुकी अपराध संहिताको दफा २४९(१) र (२) बमोजिमको कसुर अपराधमा आवाश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाइएको ।
अनुसन्धानबाट खुल्न आएका कुराहरुः
पक्राउ परेका व्यक्तिहरुले आफूसंग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिहरुलाई प्रयोग गरि तिनका आफन्त र नातागोताका व्यक्तिहरु समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनि भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि form भर्न लगाई प्रति व्यक्ति १५ देखि २० लाख असुल गरि ठगी गरेको देखिएको ।
भुटानी शरणार्थीको नाम दर्ता गर्ने सम्बन्धि फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको खुलेको ।
पक्राउ परेका व्यक्तिहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीहरुसंग सेटिङ भैरहेको भन्दै गृह मन्त्रालय, श्रम मन्त्रालय र शरणार्थीसंग सम्बन्धित बिभिन्न निकायसंग सम्बन्धित पत्र, निर्णयहरु एवं पत्रपत्रिका र अनलाईनहरुमा आएका फोटो र न्यूजहरु तथा शरणार्थी समस्या हेर्ने बिभिन्न निकायका कर्मचारीहरुको सरुवा सम्बन्धि समाचार समेत पीडितहरुलाई सेयर गरि शतप्रतिशत काम हुन्छ भनि अनेक बहाना बनाई लामो समयसम्म पीडितहरुलाई आश्चासन दिई राखेको ।
पीडितहरुलाई कहिले शरणार्थी शिविर अनुगमन हुन लागेको भन्दै त कहिले बायोमेट्रिक गर्नुपर्ने भन्दै पथरी, बेलडाँगी, विराटनगर,सौराहा, काठमाण्डौ लगायत स्थानमा पटक-पटक बोलाई हैरानी दिएको ।
काम नभएमा पैसा फिर्ता गरिदिन्छु भनि ठगी गर्ने व्यक्तिले ग्यारेन्टीको रुपमा रित नपुगेका र पर्याप्त रकम नभएका ८ करोड बराबरको चेकहरु जाहेरवालाहरुलाई दिएको पाइएको ।
लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गर भन्दा पीडकहरुले उल्टै ज्यान मार्ने सम्मको धम्की दिएको ।
ठगि भएको रकम संकलनका लागि बिभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएको । पीडितहरुले ६५ लाख भन्दा बढी रकम बिभिन्न व्यक्तिको खातामा डिपोजिट गरेको भेटिएको ।
पीडितहरुमध्ये १० जना भन्दा बढीको नाममा नेपाल सरकार गृह मन्त्रालयको नाममा सरकारी लोगो समेत प्रयोग गरि शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधान सम्बन्धि कार्यदलका सदस्यहरुको समेत मिलेमतो रहेको आशंकामा थप अनुसन्धान भइरहेको ।
पक्राउ परेका व्यक्तिहरु:
१. जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ घर भई हाल ऐ. ऐ. महालक्ष्मी न.पा. वडा नं. ४ सितापाखा हाईट बस्ने बर्ष ५० को सानु भण्डारी ।
२. जिल्ला मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४९ को केशव प्रसाद दुलाल ।
३. जिल्ला पाँचथर फिदिम न.पा. वडा नं. ७ घर भई हाल जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं. २३ धापाखेल बस्ने बर्ष ४५ को टंक कुमार गुरूङ ।
