चितवन: भरतपुर महानगरपालिकाले केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकका रुपमा विकास गर्ने भएको छ।
गोन्द्राङ–पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवद्र्धन गर्न ठूला हुर्किएका रुख रोपण र संरक्षण गर्ने महानगरले जनाएको छ। ‘एक घर दुई रुख’ को नीति कडाइका साथ कार्यान्वयन गरिने मेयर रेनु दाहालले बताइन्।
महानगरपालिकाको आज भएको १३औँ नगरसभामा नगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताइन्।
नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रुपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ।
घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ । ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
महानगरको समृद्धि र विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन कृषि, वातावरण तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, सिमान्तकृत, लोपोन्मुखलगायतका क्षेत्रको सन्तुलित र दिगो विकासको अवधारणालाई आत्मसात् गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ।
सन् २०२४ मा दुई लाख पर्यटक भित्र्याउने गरी भरतपुर भ्रमण वर्ष मनाउने योजनाअनुरुप सूचना प्रविधिसँग जोड्न महानगरपालिकाभित्रका ३० वटै पर्यटकीय गन्तव्यको सम्पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली भाषामा दिइने गरी मोबाइल एपको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
‘व्यवस्थित पूर्वाधार, समृद्धिको आधार’को अवधारणाबमोजिम महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ।
सहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ।
‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ।
‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीतिअनुरुप विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।
केरूङ्गा घोल, पुङ्गी खोलालगायतका खोलालाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने जनाइएको छ। यससँगै अतिक्रमित संरचना हटाइने उल्लेख छ।नारायणी नदी किनारमा निर्माणाधीन ‘सी बीच मोडेल’सहितको मनोरञ्जन पार्कलाई व्यवस्थित गर्न र थप निर्माण कार्यलाई सम्पन्न गर्न गुरुयोजनाबमोजिम सङ्घ एवं प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिइने दाहालले बताइन्।
असहाय र विपन्न परिवारको पहिचान गरी महानगरपालिकाले नै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ। छोरीसँग मेयर कार्यक्रमअन्तर्गत महानगरभित्र स्थायी बसोबास गरी सरकारी स्वास्थ्य संस्थामा जन्म हुने छोरीका लागि छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिइएको छ।
भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी सहकारी मोडलमा नमुना होमस्टे सञ्चालनमार्फत पर्या–पर्यटन प्रवद्र्धन गरिनेछ।
महानगरले अनलाइन सेवा प्रदान गरिरहेका राजस्व प्रणाली, भुक्तानी प्रणाली, नक्सा प्रणाली, गुनासो व्यवस्थापन, पञ्जीकरण, खरिद प्रणाली एवं डिजिटल योजना प्रणालीलगायत सार्वजनिक सेवा प्रवाहसम्बन्धी प्रणालीलाई सेवाग्राही मैत्री तथा प्रविधिमैत्री बनाउने नीति अङ्गीकार गर्दै थप स्तरोन्नति गरिने भएको छ। रोजगारी सिर्जना गर्न उद्योगलाई प्रवद्र्धन गर्ने महानगरको नीति तथा कार्यक्रममा जनाइएको छ। रासस
