काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपाल पराजित भएको छ। मंगलबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपाल यमनसँग २–० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफमा यमनलाई बराबरीमा रोकपनि दोस्रो हाफमा नेपाल सम्हालिन सकेन । यमनका लागि खेलको ७२ औँ मिनेटमा ओमर अलदही र ९० औँ मिनेटमा मोहम्मद अब्दुल्लाह अल–दहीले गोल गरे ।
विश्वकप फुटबलको एसियन छनोटको दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन्। फिफा वरीयतामा युएई ६९औं स्थानमा छ। भने बहराइन ८३औं र यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ।
पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो। चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने दुई टिम विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्।
