काठमाडौँ : एमालेले बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ। बैठक बिहान ११ बजे बस्दैछ।
बैठक सुरु हुनुअघि संसद्मा अनिवार्य उपस्थिति भएर बजेटको पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्विप जारी गरेका हुन्।
‘आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटलाई निर्णायार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरिएको जानकारी गराएका छाैँ,’ बर्तौलाले भने।
गएको जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो। विगत केही दिनयता प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी छ।
आज केही मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिएपछि बजेट पारितको प्रक्रियामा जाने संसद् सचिवालयले जनाएको छ।
