काठमाडौँ: देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। अहिले (मंगलबार बिहान) पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पनि देशैभरका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
महाशाखाको बिहानी बुलेटिनअनुसार राति देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
