काठमाडौँ : भूकम्पपछि पुनः निर्माण शुरु भएका पाँच लाख ५५ हजार ६१२ निजी घरमध्ये दुई लाख ९६ हजार ५१४ घर सम्पन्न भएका छन् ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणको सूचना प्रणालीमा प्राप्त तथ्याङ्कअनुसार बाँकी दुई लाख ५९ हजार ९८ घर पुनः निर्माण भइरहेका छन् । कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकाले पुनः निर्माण भएका घरको सङ्ख्या करीब साढे तीन लाख पुगेको प्राधिकरणको अनुमान छ ।
दशैँ तिहारपछि पुनः निर्माण भइरहेका घरको निर्माण सम्पन्न हुने र शुरु गर्न बाँकी लाभग्राहीले पनि निर्माण थाल्ने प्राधिकरणको अपेक्षा छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इञ्जिनियर सहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरको पुनः निर्माण छिटो सम्पन्न गर्न सहयोग पुग्ने बताए ।
“अभियानका रुपमा निजी आवास पुनः निर्माणलाई अघि बढाउन लाभग्राही, स्थानीय तह, राजनीतिक दलदेखि सबैको सहयोग जरुरी छ”, उनले भने । भूकम्पबाट क्षति भएका घरमध्ये अनुदान सम्झौता सम्पन्न लाभग्राही सङ्ख्या सात लाख २३ हजार ७२८ छन् । त्यसमध्ये सात लाख १७ हजार ९६४ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन् । दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या पाँच लाख तीन हजार ३६ पुगेको छ । दुई लाख ६६ हजार ९०४ लाभग्राहीले तेस्रो किस्ता बुझिसकेका छन् ।
गुनासो सम्बोधनपछि कूल पुनः निर्माण लाभग्राहीको सङ्ख्या आठ लाख १० हजार ६९० पुगेको छ । प्रबलीकरणको सूचीमा परेका लाभग्राहीको सङ्ख्या ६१ हजार ८९१ पुगेको छ ।
जिल्लागत रुपमा पुनः निर्माण
सिन्धुपाल्चोकमा ४९ हजार ५४०, दोलखामा ४४ हजार ४६१, गोरखामा ३६ हजार ४९०, धादिङमा ३५ हजार ६६१, नुवाकोटमा २८ हजार १५०, रामेछापमा २३ हजार ७३४, काभ्रेपलाञ्चोकमा २० हजार ७५२, सिन्धुलीमा ११ हजार ११०, ओखलढुङ्गामा १० हजार ७८७, ललितपुरमा तीन हजार ४५५, भक्तपुरमा पाँच हजार ५३०, काठमाडौँमा सात हजार ४३८ र रसुवामा आठ हजार ५९१ घर पुनः निर्माण सम्पन्न भएका छन् ।
यसैगरी मकवानपुरमा आठ हजार ३४६, खोटाङमा एक हजार १९१, सोलुखुम्बुमा ४३०, स्याङ्जामा ५२०, गुल्मीमा ३१५, अर्घाखाँचीमा १६ र लमजुङमा सात घर पुनः निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
करीब डेढ खर्ब अनुदान वितरण
भूकम्पबाट क्षतिग्रस्त निजी आवास निर्माणमा गत आर्थिक वर्षको अन्त्यसम्म एक खर्ब ३८ अर्ब २१ करोड ५२ लाख ९४ हजार ५१८ रुपैयाँ वितरण भएको थियो । यसमध्ये १४ अर्ब ३८ करोड ७७ लाख ८७ हजार ४५१ आव २०७२÷७३ मा वितरण भएको थियो भने आव २०७३÷७४ मा रु ३५ अर्ब ३५ करोड ४५ लाख १८ हजार २५८ वितरण भएको थियो । त्यसैगरी २०७४÷७५ मा ८ अर्ब ४७ करोड ४० लाख ८८ हजार ८०९ रुपैयाँ बराबरको आवास अनुदान वितरण भयो ।
चालू आवका लागि प्राधिकरणले ८३ अर्ब ४१ करोड ६८ लाख तीन हजार रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये हालसम्म करीब रु १० अर्ब वितरण भइसकेको छ । सरकारले बजेटमार्फत चालू आवभित्र निजी आवास पुनः निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
गुनासो फस्र्यौटबाट थपिँदै लाभग्राही
प्राधिकरण कार्यकारी समितिले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत सङ्कलित तथ्याङ्क विश्लेषण गरी एक लाख १८ हजार ७८० गुनासोको सुनुवाइ गरी नतिजा सार्वजनिक गरेको छ । भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार यसबाट ४२ हजार ४२२ गुनासोकर्ता लाभग्राही सूचीमा परेका छन् ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार ३५ हजार ५०५ घरधुरी प्रवलीकरण लाभग्राहीमा समावेश भएका छन् । २८ हजार ५७४ गुनासोकर्ता लाभग्राही हुन अयोग्य देखिएका छन् । ‘‘बाँकी गुनासोकर्ताका बारेमा थप पुष्टिका लागि स्थानीय तहमा पठाइएको छ, छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत बाँकी गुनासोको प्राधिकरणका प्राविधिकहरूद्वारा अध्ययन भइरहेको छ’’, उनले भने ।
प्राधिकरणले गत वर्ष स्थलगत रुपमा प्राविधिक इञ्जिनियर परिचालन गरी छुट तथा पुनः जाँच सर्वेक्षणमार्फत एक लाख २९ हजार ४०८ गुनासो सङ्कलन गरेको थियो । भूकम्प प्रभावित १६ जिल्लाका २६३ गुनासोकर्तालाई पुनः निर्माण लाभग्राही र एक हजार ३९५ गुनासोकर्तालाई प्रवलीकरण लाभग्राही कायम गरेको छ । तीन हजार ६१७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २२० जनाको अर्को स्थानमा बस्न योग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय गरेको पनि प्राधिकरणले जनाएको छ ।