काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले भनेजस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिएको भए जेनजी आन्दोलन नै नहुने दाबी गरेका छन्।
संविधान दिवसका अवसरमा शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बनाउने बेला आफूहरूले भनेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगर्दा अहिले यो अवस्था आएको जिकिर गरेका हुन्।
‘राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो। बहस भयो। सहमति भएन। त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो’, उनले भने, ‘जेनजीले आन्दोलन गर्नु पर्थेन। यति ठूलो क्षति हुने थिएन।’
प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र पहिचानका विषय ठिक थिए भन्ने कुरा जेनजी आन्दोलनले पुष्टि गरेको दाबी पनि प्रचण्डले गरे।
‘हामीले संविधान बनाउँदा भिन्न मत राखेका थियौँ। जेनजीको आन्दोलनले फेरि पुष्टि गरेको छ, ती मत सही थिए’, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘१० वर्षपछि पुनः संशोधन गरेर त्यो ठाउँमा पुग्न सकिन्छ भन्ने आधार बनेको देख्छु म। त्यसलाई कार्यान्वयन गर्न अगाडि बढ्नुपर्छ।’
