इटहरी : सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले टेलिकमले सेवाग्राहीको विश्वास जितेर उपभोक्ता बजारमा आफूलाई खरो उतार्नुपर्ने बताएका छन् ।
मन्त्री बाँस्कोटाले आज इटहरीस्थित नेपाल टेलिकम कार्यालयको स्थलगत निरीक्षण गर्दै नेपालमा कुनै बेला ज्यादै उन्नतिको शिखरमा पुगेर धराशायी बनेका टिम्बर कर्पोरेशन, जनकपुर चुरोट कारखाना, भृकुटी कागज उद्योग, बाँसबारी छालाजुत्ता कारखाना, हेटौँडा कपडा उद्योग आदिको दृष्टान्त प्रस्तुत गर्दै टेलिकमले पनि आफूलाई जोगाउनका लागि कठोर नीति लिएर काम गर्न जरुरी छ भने ।
मन्त्री बाँस्कोटाले सूचना मन्त्रालयबाटै देशभरका टेलिकमका कर्मचारीले इमान्दारीपूर्वक कर्तव्य पालना गरे वा नगरेको अनुगमनको प्रविधि अपनाएर हेरिने जानकारी दिँदै देश र जनताप्रति बेइमानी गर्ने संघ, संगठन वा युनियनमा आबद्ध कर्मचारीप्रति सरकार खरो उत्रनेछ भने ।
सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीलाई उच्च प्रविधियुक्त बनाउँदै सेवाग्राहीप्रति उच्च र विश्वासनीय सेवा दिन टेलिकमले भरमग्दूर प्रयास गर्दै नीतिमा समेत परिमार्जन गर्ने प्रयास अघि बढाइरहेको जानकारी दिईन ।
सोही अनुगमनका क्रममा सुनसरी र मोरङ जिल्लाका अधिकांश भागमा टेलिकमको सेवा हेर्दै आएको इटहरीका प्रमुख ज्ञानेश ढुंगानाले केही स्थानमा उच्च प्रविधिसहितको सेवा विस्तारको माग तीव्र गतिमा भइरहेकाले त्यसतर्फ काम भइरहेको र कम्पनीले प्राप्त गर्नुपर्ने उपलब्धि सन्तोषजक रुपले प्राप्त गरिरहेको मन्त्री बाँस्कोटालाई जानकारी दिए ।