काठमाडौं : नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७५–०७६ को पहिलो त्रैमासमा संगठित संस्थाहरुलाई १ अर्ब ८८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन अनुमति दिएको छ ।
यसअवधिमा ४ वटा कम्पनीले आइपीओ बिक्री अनुमति पाएका हुन् । आइपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका २५ वटा संस्था मध्ये ३ वटा जलविद्युत कम्पनी र एक लघुवित्त वित्त संस्थाले अनुमति पाएका हुन् ।
आइपीओ अनुमति प्रकृयामा रहेका मध्ये १० वटा कम्पनीको निवेदन प्रारम्भिक पुनरावलोकन प्रकृयामा रहेको र २ वटा संस्थालाई आवश्यक थप कागजात पेश गर्न भनिएको बोर्डले जनाएको छ । ४ वटा लघुवित्त संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को व्यवस्था बमोजिम हुने गरी आइपीओ निष्कासन गर्न सूचित गरिएको पनि बोर्डले उल्लेख गरेको छ ।
धितोपत्र बोर्डका अनुसार एउटा कम्पनीकोे विवरणपत्र अध्ययन गरी आवश्यक सुधार एवं संशोधनका लागि लेखी पठाइएको छ । यस अवधिमा ७ वटा कम्पनीले बोर्डको राय सुझाव बमोजिम विवरणपत्रमा आवश्यक संशोधन गरी जवाफ समेत पेश गरेका छन् । बोर्डले पाएको जवाफ पुनरावलोकन गरी ३ वटा संस्थालाई राय सुझाव बमोजिम विवरणपत्रमा सुधार गरी पुनः पेश गर्न निर्देशन दिइएको छ ।