गाईघाट : पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ।
उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि २०७१ असारमा पुल निर्माण थालिएको थियो। पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सा/मृत सञ्जीवनी जेभी बानेश्वरले २०७४ असारको म्याद राखी ठेक्का सकारेका थिए। नाकाबन्दी, बन्दहडतालजस्ता बहाना बनाउँदै कम्पनीले तोकिएको समयसीमामा ५ प्रतिशत मात्र काम गरेको थियो। पुनः २०७५ असारभित्र काम सम्पन्न गर्ने गरी एक वर्ष म्याद थप गरिएको थियो।
कम्पनीले यो अवधिमा १५ प्रतिशत काम गरी प्रगति २० प्रतिशत पुर्याएको लहान सडक डिभिजन कार्यालयका साइड इन्चार्ज इन्जिनियर सोभितलाल ठाकुरले बताए। उनका अनुसार सातवटा पिलर निर्माणाधीन छन्। तर, कमसल सामग्री प्रयोग गर्दा पिलर वर्षाको समयमा खोलाले भत्काएको छ।
मापदण्ड पूरा नगरेको, गुणस्तरहीन सामग्री प्रयोग गरेको भन्दै स्थानीय नेताले तीन वर्षअघि काम रोकेका थिए। कांग्रेसका तत्कालीन रामपुर गाउँ सभापति सुशील सेढाइँले गुणस्तरहीन काम भएको भन्दै भत्काएर नयाँ बनाउनुपर्ने माग गरेका थिए।
पुलको लागत १३ करोड ३९ लाख रहेको डिभिजन कार्यालय लहानका प्रमुख रामकुमार देवले बताए। उनका अनुसार कम्पनीले २ करोड १५ लाखभन्दा बढी रकम लगिसकेको छ। कम्पनीले भने रकम भुक्तानी नहुँदा काम गर्न नसकिएको जनाएको छ। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।