काठमाडौँ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ पारित गरेको छ ।
कार्यविधिलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अञ्जु ढुंगानाले बताइन् । उनका अनुसार मन्त्रालयले हवाई सेवा प्रदायक कम्पनी छनोट गर्न बोलपत्र आह्वानको तयारी गरिरहेको छ । त्यसको अवधि करीव ३ साताको हुनेछ । देशको कुनै पनि कुनामा रहेका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोखिममा नपरोस भनी राष्ट्रपति महिला उत्थान कार्यक्रम हवाई उद्धार गर्न लागिएको उनले बताइन् ।
चालु आर्थिक वर्ष २०७५/७६ का लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमको ६० करोड रुपैयाँ बजेटबाट यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । छनोट भएको सेवा प्रदायक संस्थाले उपलब्ध गराएको विवरणका आधारमा मन्त्रालयले बिलअनुसारको रकम भपाई गर्ने प्रावधान बनाइएको छ । यो समाचार नयाँ पत्रिकाबाट साभार गरिएको हो