काठमाडौँ: कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिका लागि दरखास्त माग गरेको छ। लीलाप्रकाश सिटौलाको कार्यकाल आगामी २७ गते सकिने भएपछि बैंक सञ्चालक समितिले नयाँ सिइओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रक्रिया शुरु गरेको हो।
बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको छ। इच्छुक आवेदकले व्यावसायिक कार्ययोजनासहित आवेदन दिनु पर्ने हुन्छ।
व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ। चार्टर्ड एकाउन्टेन्ट गरेकाको हकमा निम्न विषयमा कम्तिमा स्नातक गरि बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संघठित संस्था, विश्व विद्यालय तथा त्यस्तो निकायमा अधिकृत वा त्यसभन्दा माथिल्लो तहमा रहेर कम्तिमा पनि १० वर्ष काम गरेको अनुभव हुनु पर्नेछ।
निवेदकले आवेदन दिँदा कुनै पनि राजनितिक संघठनमा आवद्ध नरहेको प्रमाणित गर्नु पर्नेछ। त्यस्तै भ्रष्टाचार तथा फौजदारी अभियोग नलागेको प्रामाण पेश गर्नु पर्नेछ। उम्मेदवारले ५ हजार शब्द नबढ्ने गरि व्यावसायिक कार्ययोजना पेश गर्नु पर्नेछ।