काठमाडौं : अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले शनिबारदेखि यात्रु बिमा रकम एक करोड ७७ लाख रुपैयाँ पुर्याउँदै छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरिसकेको मन्ट्रियल महासन्धि नेपालले पनि शनिबारदेखि लागू गर्ने भएको हो।
नेपालले मन्ट्रियल महासन्धि दिवसको दिन शनिबारबाट नेपालमा यो लागू हुने भएको हो। मन्ट्रियल महासन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले ६० वर्षपछि यात्रुको बिमांक रकम बढाउन लागेका हुन्।
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाईसेवा प्रदायकले २० हजार अमेरिकी डलर बराबरको बिमांक प्रदान गर्दै आएका थिए। मन्ट्रियल महासन्धिको पालनापछि नेपालका सबै अन्तर्राष्ट्रिय हवाई यात्रुको बिमा रकम एक लाख १३ हजार एक सय एसडीआर पाउनेछन्।
एसडीआर अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रचलनमा ल्याएको लेखाको इकाइ हो। नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि यो व्यवस्था कार्यान्वयन हुने जानकारी दिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले आईकाओका १३५ सदस्य राष्ट्रले अनुमोदन गरेका छन्।
लामिछानेका अनुसार ‘शनिबारबाट महासन्धि अनुमोदन गर्ने सबै राष्ट्रले अनिवार्य रूपमा यसका सर्त पालना गर्नुपर्ने भएको छ।’
यो महासन्धिको पालनापछि सबै अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुको बिमा रकम बराबर भएको छ। सदस्य राष्ट्रमध्ये सीमित दायित्वअन्तर्गत जुनसुकै मुलुकको अन्तर्राष्ट्रिय उडानका क्रममा यात्रुको मुत्यु भए प्रतिव्यक्ति एक लाख १३ हजार एक सय एसडीआर पाइने भएको छ। यो समाचार अन्नपुर्ण पोस्टबाट लिइएको हो ।