काठमाडौं : एउटा मिनी क्यासिनोमा शनिबार साँझ जुवा खेलिरहेको अवस्थामा प्रहरीले १३ जना नेपालीलाई पक्राउ गरेको छ।
उनीहरुलाई काठमाडौँको ज्याठास्थित चिनियाँ नागरिक फाङको लगानीमा सञ्चालित मिनी क्यासिनोबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानी पोखरीकी प्रवक्ता एसएसपी पूजा सिंहले जानकारी दिइन्।
उनीहरु सबैलाई सुनिल लामाको नाममा दर्ता भएको मिनी क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले एक लाख १९ हजार ८ सय रूपैयाँ, भारू २ हजार ५ सय र २ थान जुवा खेल्ने मेसिनको डिस्प्लेसहित पक्राउ गरेको हो।
क्यासिनोमा नेपालीलाई प्रवेश र जुवा खेलाउन निषेध गरिएको छ। क्यासिनो नियमावली २०७० मा नेपालीलाई जुवा खेल्न खेलाउन निषेध गरिएको हो। तर बेला बेलामा क्यासिनोहरुले प्रहरीको आँखा छलेर नेपालीलाई जुवा खेलाउने गरेका छन्।