काठमाडौं: भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज तथा न्युजिल्यान्डविरुद्धको एक दिवसीय र टी-ट्वान्टी सिरिजका लागि टिमको सूचीमा परेका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको १६ सदस्यीय टोलीमा भारतीय क्रिकेट टिमका धोनीले पनि पुनरागमन गरेका हुन् । यसअघि भारतले वेष्टइण्डिज र अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्दा टिममा धोनी अटाएका थिएनन् ।
भारतले अष्ट्रेलियासँग अहिले तेस्रो टेष्ट क्रिकेट खेल्ने तयारीमा छ । चार खेलको टेष्ट क्रिकेट सिरिज सकेपछि अष्ट्रेलियासँग भारतले एक दिवसीय क्रिकेट सिरिज खेल्नेछ । यो सिरिजमा धोनीले पनि खेल्ने छन् । तर, ऋषभ पन्त अष्ट्रेलिया र न्यूजील्याण्डविरुद्धको वनडे सिरिजमा अटाएका छैनन् ।
अष्ट्रेलियाविरुद्ध १२ जनवरीदेखि वनडे सिरिज सुरु हुनेछ । यसैगरी २३ जनवरीबाट भारतको न्यूजील्याण्ड यात्रा सुरु हुनेछ, जहाँ पाँच वन डे र तीन टी-ट्वान्टी खेल भारतले खेल्ने छ ।