काठमाडौँ : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एकिकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा समेत सहकारीले योगदान दिनुपर्ने बताएका छन् ।
उनले नेपालका अधिकांश भूमी खण्डिकरण र टुक्रा टुक्रा अवस्थामा रहेका कारण कृषि उत्पादनमा चुनौती रहेको बताए ।
उनले ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवस र २५ औं राष्ट्रिय सहकारी सहकारी महासंघ दिवसको अवसरमा बोल्दै जमिन खण्डिकरणको समस्याका कारण कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न समस्या आइरहेको बताए ।
पत्येक बर्ष जुलाईको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।
यसै अवसरमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुत्तः आयोजनामा सहकार्यमार्फत दीगो समाज भन्ने मुल नाराका लागि नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।
मन्त्री खनालले पछिल्लो समय नेपालका युवाहरुमा व्यवसायीक कृषितर्फ आकर्षण बढेको बताउँदै कृषिको लगानी डुब्दैन भन्ने प्रत्याभूति राज्यले गराउन सक्नुपर्नेमा जोड दिए । उनले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको महत्वपूर्ण योगदान हुने बताए ।
पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताए । उनले दिगो विकास लक्ष्य प्राप्तिमा सरकार र निजी क्षेत्रको जतिकै सहकारीको पनि जिम्मेवारी रहेको औल्याए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीले हात झिकेको खण्डमा दिगो विकासका लक्ष्य हासिल गर्न नसकिने बताए । उनले भने, ‘७ सय ६१ वटा सरकार रहेकाले उनीहरुलाई रिजाउन सहकारीलाई चुनौती भएको छ । त्यसैले सबै स्थानीय तहमा सहकारी डेक्स र सहकारी अधिकृत राख्नुपर्छ । तबमात्र यो समस्या समाधान हुन्छ ।’
उनले ७ वटै प्रदेशमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्र र केन्द्रमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको आवश्यकता रहेको बताए ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका कन्ट्री डाइरेष्टर रेनाउड मेयरले नेपालको सहकारी अभियान जनसम्पर्क गर्ने उत्कृष्ट मञ्च बन्न सफल भएको भन्दै प्रसंसा गर्नुभएको थियो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलेले दिगो विकास लक्ष्य हासिल गर्न बनेको समन्वयन समितिमा पछिल्लो समयदेखि सहकारीको अनिवार्य सहभागिता गराइएको बताए ।
चितवन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट
राष्ट्रिय सहकारी महासंघले जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चितवनलाई यस आर्थिक बर्षको उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको छ ।
९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा महासंघले देशभरिका ३२१ जिल्लास्तर संघबाट चितववको बचत तथा ऋण सहकारी संघलाई उत्कृष्ट चयन गरेको हो ।