काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले गौरवका सहित २० आयोजनाको प्राविधिक परीक्षण गरिरहेको छ । प्राविधिक परीक्षण कमजोर हुँदा राष्ट्रिय गौरवका आयोजनाको निर्माण गुणस्तरहीन भएको गुनासो आएपछि केन्द्रले प्राविधिक परीक्षण थालेको केन्द्रका प्राविधिक अधिकृत दीपेन्द्र साहले जानकारी दिए ।
कमजोर प्राविधिक परीक्षणका कारण सिक्टा सिँचाइ आयोजनाको नहर परीक्षण नहुँदै ठाउँठाउँमा भत्किएको छ । माटो परीक्षण नै नगरी बनाएका कारण सिक्टा नहर भत्किएको हो । बर्दियाको बबई नदीको जब्दीघाट पुललगायत पुल बनी नसक्दै भत्किएका छन् ।
केन्द्रले जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका रानीजमरा कुलरिया सिँचाइ आयोजना, सिक्टा सिँचाइ आयोजना, भेरी–बबई बहुउद्देश्यीय सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाको प्राविधिक परीक्षण गरिसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण लोकमार्ग (कोसी, कर्णाली, गण्डकी कोरिडोर), लुम्बिनी विकास कोष, पशुपति क्षेत्र विकास कोषको प्राविधिक र हुलाकी सडक आयोजनाको सडक एवं पुल दुवैको परीक्षण सकिएको छ । अधिकांश हुलाकी आयोजनाको सडक भारत र पुल नेपाल सरकारले बनाउँदै छ ।
केन्द्रले भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र निजगढमा बन्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रपति चुरे तराई मधेस संरक्षण आयोजनाबारे पनि परीक्षण गरिरहेको छ ।
केन्द्रले योजना र डिजाइन, खरिद प्रक्रिया, कार्यान्वयन र कार्यान्वयनपछिको अवस्था परीक्षण तथा अनुगमन गर्दै आएको प्राविधिक अधिकृत साहले जानकारी दिए । कार्यान्वयनको अवस्थाको ९० प्रतिशत र कार्यान्वयनपछिको अवस्थाको १० प्रतिशत परीक्षण मात्रै हुने गरेको उनले बताए । योजना र डिजाइनको काम भने अहिलेसम्म केन्द्रले नगरेको उनको भनाइ छ ।