काठमाडौँ: चालू आर्थिक वर्ष सकिन एक हप्ता मात्र बाँकी हुँदा सम्म पुँजीगत बजेट खर्चको अवस्था झनै निराशाजनक रहेको छ ।
असार २३ गतेसम्म पुँजीगत खर्च जम्मा ५७ प्रतिशत रहेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरण अनुसार चालू आर्थिक वर्षको असार २३ गते सम्म सरकारले एक खर्ब ९२ अर्ब ४७ करोड पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्षको लागि पुँजीगत खर्च तर्फ ३ खर्ब ३५ अर्ब बजेट बिनियोजन गरिएको थियो ।
सरकारले पुँजीगत बजेट खर्चमा सुधार गर्न समयमा बजेट ल्याए पनि अपेक्षीत रुपमा खर्च हुन नसक्दा बिकासका कामहरु अघि बढ्न सकेको छैन ।
अर्थ मन्त्रालयले समयमा बजेट निकाशा गरि सम्बन्धित मन्त्रालय तथा बिभागहरुलाई बजेट खर्चको अक्तियारी दिए पनि पुँजीगत खर्च बढ्न नसक्दा चिन्ताको बिषय बनेको छ ।
यता चालू खर्च भने ८३ दशमलब ३९ प्रतिशत भएको छ । हालसम्म चालू खर्च तर्फको बजेट बिनियोजनको ६ खर्ब ७० अर्ब खर्च भएको छ । सरकारले चालू खर्च तर्फ ८ खर्ब ३५ अर्ब बिनियोजन गरेको थियो ।
चालू आर्थिक बर्षको असार तेश्रो हप्ता सम्ममा बार्षिक लक्ष्यको ९१ प्रतिशत राजस्व संकलन गएको छ । चालू आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ६ खर्ब ६६ अर्ब राजस्व संकलन भएको छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीका अनुसार असारको तेश्रोहप्ता सम्ममा भएको ५७ प्रतिशतको पुँजीगत खर्च सारै निराशाजनक हो ।
उनले भने- ‘समयमा बजेट आएपनि विकास बजेट खर्च प्रभाकारी हुन् नसक्नु भनेको सरकार तथा कर्मचारीमा समस्या नै हो । सरकार तथा कर्मचारीहरु जिम्मेवार हुनु पर्छ ।”
“हाम्रो देशमा विकास बजेट कम छ भन्दै त्यहि पनि खर्च गर्न नसक्ने हो भने कसरी देश सम्वृद्धि हुन्छ,” उनले भने ।
विकास बजेट खर्च हुन नसक्ने देशको पुरानो रोग हो भन्दै यसलाई समयमानै निराकरण गर्नुपर्ने उनले बताए ।