काठमाडौं: नेपाल प्रेस युनियनले केपी ओली नेतृत्वको सरकारले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले विभिन्न संचार संस्थामा नियुक्त गरेकाहरुलाई हटाएको भन्दै आइतबार विरोध जनाएको छ ।
युनियनका महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ ओली सरकारको सो निर्णय तत्काल फिर्ता लिइ पूर्ववत रुपमा काममा फर्काउन सरकारसँग माग गर्छौं।”
ओली सरकारको निर्णयअनुसार गोरखापत्र ;(गोप) संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्याय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्यहरु विमला भण्डारी र गोविन्द कोइराला, नेपाल टेलिभिजन संचालक समिति सदस्यका रुपमा ट्रेड युनियनका प्रतिनिधि गोविन्द धिताल, राष्ट्रिय समाचार समितिमा कर्मचारी प्रतिनिधिका रुपमा संचालक समिति सदस्य एकराज पाठक सहित अन्य संचार सम्वद्ध संस्थामा काम गर्दै आएकाहरुको पद गएको छ ।
युनियनले कार्यकाल पूरा नहुँदै हटाइएका सबैलाई कानुनी चुनौती दिन समेत आह्वान गरेको छ ।