काठमाडौं: पेसाले चार्टर्ड एकाउन्टेन्ट तथा उदयपुर सिमेन्टका महाप्रवन्धक रहिसकेका सुरेन्द्र कुमार पौडेललाई सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ ।
तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए ।
१७ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।
निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।