काठमाडौँ: मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल(एमसिए) को कार्यकारी निर्देशकमा डा खड्गबहादुर बिष्ट नियुक्त हुनुभएको छ ।
सरकारले खुल्ला प्रतिस्पर्धाबाट विस्टलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपालको सञ्चालक समितिको अध्यक्षता अर्थ मन्त्रालयका सचिवले गर्ने व्यवस्था छ । यही पुस १३ गते विष्टलाई नियुक्त गर्ने निर्णय भएपनि एसमसिए नेपालले आज उहाँलाई नियुक्तीपत्र दिएको हो ।
उहाँले औपचारिक रुपमा आगामी फागुन १ गतेदेखि कार्यभार सम्हाल्नुहुनेछ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसि)ले नेपालको विद्युत् प्रसारण लाइन र सडक पूर्वाधारमा काम गर्ने सहमति गरेको छ । सन् २०१७ को सेक्टेम्बर १४ मा भएको द्विपक्षीय सहमतिअनुसार अमेरिकाले ५०० मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ ।
उक्त परियोजनामा नेपाल सरकारको तर्फबाट १३ करोड डलर लगानी रहेनछ । तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । कार्यकारी निर्देशकमा नियुक्त हुनु भएका विस्टले रासससँगको कुराकानीमा नेपालको मेरुदण्डको रुपमा रहेको प्रसारण लाइनलाई समयमै सम्पन्न गराउन भरमग्दूर प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको महत्वपूर्ण परियोजना र अमेरिका सरकारको सहयोग रहेकाले पनि समयमै सम्पन्न गराउन मेरो तर्फबाट भरमग्दुर प्रयास गर्नेछु ।”
सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको सन्दर्भमा त्यसलाई सहज प्रसारण गर्ने वातावरण बनाउने तथा बढी भएको विद्युत् क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा लैजान पनि उक्त परियोजना महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान) नेपालका पूर्वअध्यक्ष समेत रहनुभएका विष्टले आफू सबै पक्षसँग मिलेर साझा हित र चासोलाई समेत सम्बोधन गर्दै सङ्घीय सरकार र स्थानीय सरकारसँग मिलेर परियोजना सफल बनाउन लागिपर्ने दृढता व्यक्त गर्नुभयो ।
नेपालको प्रसारण लाइन निर्माणमा वनसँग जोडिएका विषय पेचिलो रहेको सन्दर्भमा कार्यकारी निर्देशक विस्ट भन्नुहुन्छ । उहाँले भन्नुभयो, “वनसँग जोडिएका विषयलाई पनि सहज रुपमा नै समाधान गर्ने र परियोजनामा कुनै पनि समस्या आउन नदिन सरोकार भएका सबै पक्षसँग वार्ता र संवादलाई उच्च प्राथमिकतामा राखिनेछ ।”
पछिल्लो समयमा विस्ट ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको प्लान्ट म्यानेजरको रुपका कार्यरत हुनुहुन्थ्यो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरणलगायत निकायसँग नजिक रहेर काम गरेको आफ्नो अनुभवलाई पूर्ण रुपमा सदुपयोग गर्ने जानकारी दिँदै विष्टले महत्वपूर्ण परियोजनामा काम गर्ने अवसर आएकोमा खुसी व्यक्त गर्नुभयो ।
नेपालको प्रसारण लाइनको विकास गरी नेपाल र भारतबीचको विद्युत् व्यापारमा सहज बनाउने, सडकको गुणस्तर सुधारलगायतका काम सो परियोजनामार्फत हुनेछ । प्रशारणलाइनतर्फ काठमाडौँको लप्सीफेदीदेखि दमौलीसम्मको ३०० किलोमिटर र दमौलीदेखि नेपाल–भारतको सीमा नजिक सुनवलसम्म २३ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने योजना छ ।
परियोजनाअन्तर्गत नुवाकोटको गल्छी, तनहुँको दमौली र सुनवलमा सबस्टेसन निर्माण गरिनेछ । एमसीसीको सहयोगमा निर्माण गरिने प्रसारण लाइन सरकारले प्रस्ताव गरेको दोस्रो अन्तरदेशीय प्रसारण लाइनमा जोडिनेछ । सरकारले बुटवलदेखि गोरखपुरसम्म दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने तयारी गरेको छ । सरकारले सो परियोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा समेत सूचीकरण गरेको छ ।
यस्तै सडक निर्माणअन्तर्गत कूल ३०० किलोमिटर लामो विभिन्न छ वटा सडकको मर्मत सम्भार गर्ने योजना रहेको छ । सडक परियोजनाअन्तर्गत मेची लोकमार्गको चारआलीदेखि फिदिमसम्म १३० किलोमिटर, कोशी लोकमार्गको धरानदेखि वसन्तपुरसम्म ८८ किलोमिटर, सगरमाथा लोकमार्गको लहानदेखि गाईघाटसम्म २६ किलोमिटर, रत्न लोकमार्गको अमेलियादेखि तुलसीपुरसम्म ३८ किलोमिटर र त्रिभुवन लोकपथको हेटौँडादेखि भीमफेदीसम्मको २२ किलोमिटर सडक मर्मत सम्भार गरिनेछ ।