काठमाडौँ: हवाइ इन्धनको मूल्य घटेपछि आन्तरिक उडानतर्फको हवाइ भाडा घटेको छ ।
वायु सेवा सञ्चालक संघले हवाइ इन्धनको मूल्य घटेपछि जहाजको नयाँ भाडादर सार्वजानिक गरेको हो । नयाँ भाडादर आइतरबार देखि लागू हुने संघले जनाएको छ ।
आयल निगमले शुक्रबार आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाइ इन्धनको मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएको थियो ।
इन्धनको मूल्य घटेसँगै हवाइ भाडा पनि समायोजन गरिएको विज्ञप्ति जारी गरी संघले जानकारी दिएको छ ।
आन्तरिक वायुसेवा कम्पनीहरुले न्युनतम ९० देखि ४४० रुपैयाँसम्म भाडा घटाएको संघले जनाएको छ ।
सबभन्दा कम ९० रुपैयाँ काठमाडौंदेखि सिमरासम्मको तथा काठमाडौंदेखि धनगढीसम्मको रुटमा सबैभन्दा धेरै ४ सय ४० रुपैयाँ हवाइ भाडा घटेको छ ।
काठमाडौं–सिमरा सबभन्दा छोटो दूरी अर्थात जम्मा २० मिनेट धनगढी १ घण्टा १५ मिनेटेको सबभन्दा टाढाको गन्तब्य हो । नयाँ भाडादर अनुसार काठमाडौं–सिमरा ३ हजार १ सय २० र काठमाडौं–धनगढी १२ हजार ६ सय ७५ रुपैयाँ लाग्नेछ ।
माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँ भाडा घटेको छ । काठमाडौं–भरतपुर रुटमा ११० रुपैयाँ घटेको छ ।
त्यस्तै काठमाडौंबाट पोखरा १ सय ५५, विराटनगर २ सय ४०, जनकपुर १ सय ३०, भैरहवा २ सय ५, नेपालगन्ज ३ सय २५ र भद्रपुर रुटमा ३ सय रुपैयाँ भाडा घटेको छ ।