काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभाम्स दिने भएको छ ।
आज राजधानीमा जारी ३२ औं साधारण सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट हालसम्म कायम शेयर पुंजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभाम्स दिने प्रस्ताव गरेको हो ।
बैंकको चुक्ता पुंजी भर्खरै पारीत १८ प्रतिशत बोनस शेयरसहित १२ अर्व ५८ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी जगेडा तथा कोषको रकम पनि बढेर ९ अर्व ७७ करोड पुगेको छ भने शेयरधनी कोष रकम २४ अर्व ८७ करोड पुगेको संचालक समीतिका अध्यक्ष पृथ्वी बहादुर पांडेले बताए ।
बैंकको शेयरधनी कोष नीजि क्षेत्रका बैंकहरुमध्येको उच्च रहेको बैंकको दावी छ। गत आवमा बैंकको खुद मुनाफा ३ अर्व ६५ करोड पुगेको थियो भने बैंकको निक्षेप ११ दशमलव ४५ प्रतिशतले बढेर एक खर्व ४० अर्व पुगेको छ भने कर्जा लगानी १४. ४४ प्रतिशतले बढेर एक खर्व २० अर्व पुगेको छ।
बैंकको खराव कर्जा अनुपात १ दशमलव ३६ प्रतिशत रहेको छ।