ललितपुर: ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् ।
महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउछन् ।
उनि भन्छन्, “अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका अति आवश्यक काममात्रै गर्न सकेका छाँै ।”
स्थानीय सरकार सञ्चालन ऐनले महत्वपूर्ण जिम्मेवारी दिए पनि जनशक्ति कमीले गर्दा बढी महत्वपूर्ण काममा बढी लाग्नुपरेको महर्जन बताउनुहुन्छ । जनशक्ति पर्याप्त भए थप प्रभावकारी रुपमा काममा लाग्न सकिने महर्जन बताउछन् ।
उनि भन्छन्, “अहिले हामीले नियमित नगरी नहुने काममा जोड दिएका छौँ ।”
नगर प्रहरी अहिलेसम्म २०५५ सालमा कायम भएको ३० जना दरबन्दीका आधारमा सञ्चालनमा छ । त्यही दरबन्दीभन्दा सातजना कम अर्थात् २३ जना नगर प्रहरी अहिले कार्यरत छन् ।
दुई दशक पहिलेभन्दा अहिले क्षेत्रफल र जनसंख्या दुवै ह्वात्तै बढेको छ । पहिले उमहानगरपालिका हुँदा २२ वडा र जम्मा १५ किलोमिटर क्षेत्रफल थियो । अहिले क्षेत्रफल ३२ वर्ग किलोमिटर भएको महर्जन बताउनुहुन्छ । उनि भन्छन्, “महानगरपालिका हुँदा वडा र जनसंख्या पनि ह्वात्तै बढेको छ ।” नयाँ ठाउँ थपिने र पुरानो ठाउँमा पनि जनसंख्या वृद्धि भएको छ ।