काठमाडौँ: लगानीकर्ताहरुले कर्जामा ब्याजदर घटाउन माग गरिरहेको अवस्थामा सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले कर्जाको ब्याजदर घटाएको छ।
बैंक संचालक समितिको माघ २८ गतेको निर्णय अनुसार फागुन एक गतेदेखि लागु हुनेगरी गरी कर्जाको व्याज दरमा आम ग्राहकहरुमा आकर्षण हुने गरी बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा एक प्रतिशत घटाएको छ।
त्यसैगरी निक्षेपको व्याजदरमा साना साना बचतकर्ता लाभान्वित हुने गरी साविकको व्याजदरमा १ दशमलव ५ प्रतिशत थप हुने गरी बृद्धि गरेको छ।
बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी बैंकले ब्याजदरमा यस्तो निर्णय बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए।
उनले भने बैंकले गरेको उक्त निर्णयबाट लगानीकर्ता लाभाम्वित भई बैंकबाट ऋण लिई व्यवसाय गर्न उत्त्प्रेरित हुनेछन भने निक्षेपकर्ताहरु बढी ब्याजमा आफ्नो रकम जम्मा गर्न सक्ने छन् ।
कृषि विकास बैंकले ग्राहकको चाहना र सन्तुष्टिलाई मुल नारा बनाई आफ्ना सेवाहरु बजारमा प्रवाह गर्दै आएको छ ।
बैंकले आगामी दिन पनि समयसापेक्ष रुपमा कर्जाग्राही र बचतकर्ताहरुलाई आकर्षण गर्ने गरी ब्याजदर परिमार्जन गर्ने सीइओ उपाध्यायले बताए ।