काठमाडौँ: नेपाली कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच भागवण्डा मिलेको छ । यससँगै भोलि कार्यसम्पादन समिति गठनको सम्भावना बढेर गएको छ ।
कांग्रेसले कार्यसम्पादन समिति गठनलाई एजेण्डा बनाएर भोलि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । त्यसको अघिल्लो दिन शीर्ष नेताहरुको बैठकमा भागवण्डा मिलेको स्रोतको दाबी छ ।
एक नेताका अनुसार पदाधिकारीसहित २९ सदस्यीय कार्यसम्पादन समिति बन्नेछ । सभापतिसहित ७ जना पदाधिकारी छन् भने एकता प्रक्रियाबाट आएका विजयकुमार गच्छदार स्वत पर्ने भए । अब बाँकी २१ जनामा भागवण्डा भएको छ ।
पार्टी सभापति देउवाले ६०/४० को भागवण्डाका आधारमा वरिष्ठ नेता पौडेल समूहबाट ८ जनाको नाम मागेका छन् । यसमा वरिष्ठ नेता पौडेल, महामन्त्री सशांक कोइराला र कोषध्यक्ष उनकै पक्षको जोड्दा ४० प्रतिशत हाराहारी हुन्छ ।
बाँकी १२ जना देउवा समूहबाट आउनेछन् । १३ औं नम्बरमा कृष्ण सिटौला पर्नेछन् । स्रोतका अनुसार बैठकमा सभापति देउवाले सिटौलालाई समेत समेटेर ८ जनाको नाम मागेका थिए । तर, पौडेलले कहाँ हुन्छ ? महाधिवेशनमा मलाई भोट दिएका थिए र ? भन्ने प्रश्न गरेको एक नेताले बताए ।