काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाउनुपर्ने विषय उठेको छ ।
आइतबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमको विषयमा सरकारको धारणा माग गर्ने र बजेट बढाउनुपर्ने विषयमा छलफल भएको हो ।
हाल प्रतिनिधिसभाका निर्वाचित सांसदले आफ्नो निर्वाचन क्षेत्रमा योजना छनोट गर्न सक्नेगरी निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमका नाममा ४ करोड रुपैयाँ खर्च गर्न पाउने व्यवस्था छ ।
सरकारले आगामी बजेटमा यो कार्यक्रमलाई अगाडि बढाउने हो कि होइन । सरकारले के सोचिरहेको छ यसबारे धारणा माग गर्ने विषय उठेको कांग्रेस नेता मिनेन्द्र रिजालले बताए । ‘सरकारले यो कार्यक्रम हटाउँछ कि ल्याउँछ कि, परिस्कृत गर्छ कि, त्यो जान्न पाउनुपर्यो भनेर मैले पनि कुरा राखेको हुँ ।’
केही सांसदले प्रत्यक्ष निर्वाचित सांसदलाई पुर्वाधार विकासका नाममा बजेट दिने समानुपातिक सांसदलाई नदिने गर्दा विभेद हुने भन्दै दुबैलाई दिनुपर्ने धारणा राखे । बैठकमा सहभागी एक सांसदले भने, ‘केही साथीहरुले ‘यो कार्यक्रम प्रत्यक्ष र समानुपातिक दुबैका लागि लागू हुनुपर्यो र पूर्वाधार विकास अन्तर्गत विनियोजन हुने रकम पनि बढाउनुपर्छ भनेर राख्नुभएको छ ।’