काठमाडौं : नेकपाले पार्टी एकीकरणको वर्ष दिनपछि जनवर्गीय संगठनको एकता टुंग्याएको छ। सचिवालयको बिहीबारको बैठकले जनवर्गीय संगठनको नाम र नेतृत्व टुंग्याएको हो।
नेकपाले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका अवसरमा मदननगर बल्खुमा शुक्रबार विशेष कार्यक्रम राखेको छ। सोही कार्यक्रममा जनसंगठनको एकता घोषणा गर्ने तयारी छ।
नेकपामा २३ जनवर्गीय संगठन हुनेछन्। तीमध्ये १५ तत्कालीन एमाले र ८ तत्कालीन माओवादीको भागमा परेको छ। तत्कालीन एमालेले विद्यार्थी, मजदुर, बुद्धिजीवी, पेसागत, जनसांस्कृतिक महासंघ लगायतको नेतृत्व लिएको छ।
तत्कालीन माओवादीले युवा, महिला, पत्रकार, दलित, जनजाति लगायतको नेतृत्व पाएको छ।
सचिवालय बैठकले जनवर्गीय संगठनको भागबन्डा लगाएर नेतृत्व चयन गरेको वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताए।
‘जनवर्गीय संगठनको नेतृत्व टुंग्याउने काम भयो। धेरैजसो संगठनमा दुवैतर्फका अध्यक्ष रहेकालाई नै संयोजक/सहसंयोजक बनाइएको छ। कुनै कुनै संगठनमा भने फरक मापदण्डका आधारमा नेतृत्वमा तानिएको छ,’ खनालले अन्नपूर्णसँग भने, ‘नेतृत्वको घोषणा पार्टी एकताकै दिन गरिनेछ।’
अनेरास्ववियुमा तत्कालीन अखिलका महासचिव ऐन महरले संयोजकको जिम्मेवारी पाएका छन्। युवामा रामप्रसाद सापकोटा, महिलामा अमृता थापा, मजदुरमा विनोद श्रेष्ठ, पत्रकारमा महेश्वर दाहाल, बुद्धिजीवीमा डा. दिनेशचन्द्र देवकोटा र पेसागत संगठनमा विश्वनाथ शाह संयोजक तोकिएका छन्।
यसैगरी दलितमा तिलक परियार, जनजातिमा सुरेश आलेमगर, जनसांस्कृतिक महासंघमा खगेन्द्र राई, मुस्लिममा सराज महमद फारुकी, प्रवासी नेपाली मञ्चमा लोकनाथ भण्डारी, भूपूसुरक्षाकर्मीमा धनबहादुर चन्द संयोजक भएका छन्।
किसान संगठनको नेतृत्व चयन भएको छैन। किसान महासंघको नेतृत्वमा रहँदै आएका वामदेव गौतम बिहीबारको सचिवालय बैठकमा अनुपस्थित रहेका कारण संगठनको नेतृत्वका विषयमा सचिवालयले निर्णय नगरेको स्रोतले बतायो।