काभ्रे: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताएका छन्।
मन्त्री बाँस्कोटाले शनिबार काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भने, ‘यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दा अघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन।’
मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताए। उनले सरकार वैज्ञानिक र व्यवस्थित ढंगले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै जमिनमा हरेक जनातको पहुँच पु¥याइने धारणा राखे। उनले भने, ‘संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमिन दिने भन्ने संविधान भने बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरुलाई बास नबसाउने?’
मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार दुई सय रोपनी जमिन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गरे। ‘आफूले गर्न पाइयो भने मज्जाको ‘हाइहाई डेमोक्रेसी’ रे अर्काले गर्दा कम्युनिस्ट सरकारले खाने भो भन्ने, यो कदापि हुन्न’, उनले भने। गुठीको समस्या समाधान हुँदा सबैको समस्या समाधान हुने उनको भनाइ थियो। उनले भने, ‘विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिस्ट र कांग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन।’