काठमाडौँ: नेपाली सेनाले पहिलो पटक आयोजना गरेको ‘राष्ट्रिय सुरक्षामा सम्बाद: प्रति आतंकवाद’ सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम आज राजधानीमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको शुभारम्भ माननीय उपप्रधान तथा रक्षा मन्त्री श्री ईश्वर पोखरेलबाट भएको थियो । शुभारम्भ मन्तव्य दिनुहुँदै उहाँले हालको परिप्रेक्षमा राष्ट्रिय सुरक्षाका चुनौतिहरु मुख्यतया अपरम्परागत रहेको र यसको दायरा राष्ट्रिय सिमाभित्र मात्र सिमित नरहेको उल्लेख गर्नुहुँदै आतंकवाद मानवता र अन्तर्राष्ट्रिय सुरक्षामा जटिल चुनौति रहेको बताउनुभयो ।
सोहि क्रममा उहाँले नेपालको भौगोलिक अवस्थिति र आतंकवादको जटिलताको कारणले समेत यसलाई नियन्त्रण गर्न राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता रहेको बताउनुभएको थियो ।
सो कार्यक्रममा स्वागत मन्तब्य रथी बालानन्द शर्मा (अ.प्रा) ले राख्नुभएको थियो भने विषय विशेषज्ञ मित्रराष्ट्र श्रीलंकाका प्रा. डा. रोहण गुनारत्नेले आफ्नो भनाई राख्नुहुँदै आतंकवाद कुनै एक देशको समस्या नभई सामुहिक समस्या भएको र यसको निराकरणको लागि आन्तरिक रुपमा राज्यका विभिन्न मन्त्रालय तथा सम्पूर्ण सुरक्षा निकायबीच समन्वय र सहकार्य हुनुपर्ने साथै अन्तर्राष्ट्रिय क्षेत्रमा मित्रराष्ट्रहरुबीच समेत आपसी समन्वय, सहयोग र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भएको थियो ।
उक्त कार्यक्रममा ईजरायलका महामहिम राजदूत बेनी ओमरले आफ्नो देशमा आतंकवादले खडा गरेको चुनौति र त्यसको निराकरणको लागि चालिएका कदमहरुबारे जानकारी गराउनु भएको थियो ।
विषय विशेषज्ञहरुको प्रस्तुति पश्चात भएको अन्तरक्रिया कार्यक्रममा उपस्थित विभिन्न मित्रराष्ट्रका महामहिम राजदूतहरुले आ(आफ्नो देशमा प्रतिआतंकवादको लागि भएका व्यवस्थाहरु बारे जानकारी गराउनुको साथै नेपाली सेनाबाट पहिलो पटक प्रतिआतंकवाद विषयमा आयोजना भएको कार्यक्रम फलदायी भएकोले यसलाई निरन्तरता दिनुपर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा विभिन्न मित्रराष्ट्रहरुका महामहिम राजदूतहरु, नेपाली सेनाका बहालवाला तथा अवकास प्राप्त रथीबृन्दलगायत अन्य प्रतिष्ठित व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
यस किसिमको अन्तरक्रिया कार्यक्रमले आतंकवादरप्रति आतंकवाद विषयमा थप छलफल भई संभावित आतंकवादबाट हुन सक्ने क्षति न्युनिकरण गर्न थप समन्वय र सहकार्यमा मद्धत मिल्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।